नीलो गगनमा कावा खाँदै प्वाँख फैलाई उड्ने त्यो सधैं देखिरहने मेरो सपना माथि चिसा बतासहरुले लगातार खिया लगाइरहेका छन्, सौम्य दुनियाँमा गुलाफ बनि मुस्काइरहने त्यो सधैं सोचिरहने मेरा चाहना माथि विषालु धमिराहरूले लगातार खोक्रा बनाइरहेका छन् ।

नीलो गगनमा कावा खाँदै
प्वाँख फैलाई उड्ने
त्यो सधैं देखिरहने
मेरो सपना माथि
चिसा बतासहरुले
लगातार खिया लगाइरहेका छन्,
सौम्य दुनियाँमा
गुलाफ बनि मुस्काइरहने
त्यो सधैं सोचिरहने
मेरा चाहना माथि
विषालु धमिराहरूले
लगातार खोक्रा बनाइरहेका छन्,
न उड्न सक्नु
न फुल्न सक्नु
मेरा सारा सपना अनि चाहानाहरु
असिनाले झारेका फूलहरु जस्तै
अचेत भई भूइमा लडिरहेका छन्,
उक्लन नसकेको
त्यो अर्को खुड्किलो
अब त धेरै टाढा
दूरी सर्न सुरु गरिसकेछ
व्युझन नसकि
अर्धनिन्द्रामै मेरा पलहरु
पिडा जन्माउँदै मलाइ
विवश बनाइ तड्पाइरहेका छन,
देखेर पनि छुन नसकेको
त्यो चम्किलो चन्द्रमाले
आफ्नो कक्षमा
फन्को मार्न सुरु गरिसकेछ,
चाहेर पनि हिँड्न नसकेका
मेरा गोडाहरू अनि
उठ्न नसकेका हातहरु
किंकर्तव्यविमूढको शरण परेर
अचल अटल भई बसेका छन्,
सपनाले सत्यता अनि
चाहनाले बाटो नपाउँदा
यो जीवन यसै मरिरहेछ
पल पलमा, पल पलमा ।